जय नेपाल पार्टीमा महिला संगठनको सभापतिमा चम्पा अधिकारी चयन

आनन्द शर्मा
२० गते, शनिबार ।
काठमाण्डौ – जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ । पार्टीका सभापति डा धवलशम्शेर राणाले पार्टी निकट नेपाल महिला सङ्गठनको सभापतिमा चम्पा अधिकारी (चाहना) लाई चयन गरेका छन् । अधिकारी केही समय पहिला राप्रपा निकट महिला संगठनको केन्द्रीय सचिव थिइन । पार्टीका सभापति राजेन्द्र लिङ्देनको पार्टी संञ्चालन शैली स्वेच्छाचारी भएको भन्दै उनले सो पार्टीबाट बिद्रोह गरेकी थिइन । सभापति चयन भएपछि उनले पार्टीमा आफुलाई अवसर चुनौती दुबै प्राप्त भएको प्रतिक्रिया दिएकी छन् ।
त्यस्तै सभापति डा धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई मनोनयन गरेका छन् ।
यसैबिच सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीले सदस्य सचिवमा धनसुर शाही र सदस्यहरूमा अञ्जना शाह रावल तथा सुमिरा कार्कीलाई मनोनयन गरेका छन् । सुपरिवेक्षण समितिले केन्द्रीय तहका सबै विभाग तथा समितिहरूको सुपरिवेक्षण गर्नेछ । त्यस्तै सम्पर्क समाज विभागका संयोजक फणीराज (राजु) लोहनीले सदस्य सचिवमा रवि राज रञ्जित र सदस्यमा शिवराज रोकायालाई मनोनयन गरेका छन् ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णय अनुसार केन्द्रीय विभागहरू गठन र विस्तार गर्दै जय नेपाल पार्टी अब देशव्यापी रूपमा जिल्ला कार्यसमितिहरू गठन गर्नेछ । तदर्थ जिल्ला समितिहरू गठन गर्नका लागि चाँडै जिम्मेवारी तोकिने लावतीले जानकारी दिएका छन् ।



