रामचन्द्र चौधरीको आयोजनामा बेनौली चौकमा युवाहरूले बाले मैनबत्ती
आनन्द शर्मा
२० गते, शनिबार ।
बारा – रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाराको बेनौली चौकमा मैनबत्ती बालेर एक मिनेट मौनधारण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता रामचन्द्र चौधरीको अगुवाइमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सयौँ स्थानीय युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले रसुवा बाढीमा परी ज्यान गुमाएका दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छ्न ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता चौधरीले प्राकृतिक विपत्तिका कारण नागरिकले ज्यान गुमाउनु अत्यन्तै दुःखद र पीडादायी घटना भएको बताए । विपत्तिको समयमा पीडित परिवार र प्रभावित समुदायलाई राज्य, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
उनले विपद्का बेला राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरू थप जिम्मेवार र संवेदनशील हुनुपर्ने धारणा राखे । साथै, विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारसँग आफूहरू साथमा रहेको सन्देश दिएका थिए ।
मैनबत्तीको उज्यालोसँगै बेनौली चौकमा केही समय भावुक वातावरण बनेको थियो । सहभागीहरूले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै प्रभावित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरण, प्रभावकारी पूर्वतयारी तथा विपद्का बेला तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका थिए ।
रसुवा बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रमले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सामाजिक सहकार्यको सन्देश दिएको आयोजक पक्षले जनाएको छ ।



