जीवन ज्योति सहकारी द्वारा सरकारलाई पाँच लाख पाँच हजार सहयोग

आनन्द शर्मा
१५ गते, सोमबार ।
कलैया — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाराको कलैया–१ स्थित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँच लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सहकारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरेको संस्थाका अध्यक्ष दिलीपकुमार चौधरीले राजधानी टेलिभिजनलाई जानकारी दिएका छ्न ।
प्राकृतिक विपद बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको अध्यक्ष चौधरीले बताए ।
“विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो । प्राकृतिक विपद बाट प्रभावित परिवारलाई राहत र पुनःस्थापनाका लागि हाम्रो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले यो रकम प्रदान गरेका हौँ,” अध्यक्ष चौधरीले भने ।
भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय, संघसंस्था, व्यवसायी तथा नागरिकस्तरबाट सहयोग जुटिरहेको छ । यसै क्रममा जीवन ज्योति सहकारीले गरेको आर्थिक सहयोगले विपद्का बेला संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहको उदाहरण प्रस्तुत गरेको छ ।
सहकारीका अध्यक्ष चौधरीले विपद्को समयमा राज्यको प्रयाससँगै निजी क्षेत्र, सहकारी, संघसंस्था तथा नागरिक समाजले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए ।
विपद बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउँदै जीवन ज्योति सहकारीले गरेको यो योगदानले सामाजिक उत्तरदायित्व प्रति संस्थाको प्रतिबद्धता देखाएको छ । साथै, स्थानीय तहमा रहेका अन्य सहकारी संस्था, व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थालाई समेत विपद्का बेला मानवीय सहयोगका लागि अघि बढ्न यसले प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिमा अध्यक्ष दिलीपकुमार चौधरी, उपाध्यक्ष भरतलाल अग्रवाल, सचिव शिवजीप्रसाद यादव, कोषाध्यक्ष नवीनकुमार अग्रवाल तथा सदस्यहरू गोपाल ठाकुर, सुभाष जयसवाल र धर्मेन्द्र कुमार तिवारी रहेका छन् ।



