Banner Newsराष्ट्रिय

लिटल बडी प्रि-स्कुलका सम्पूर्ण विद्यार्थीको दुर्घटना बीमा गरियो

आनन्द शर्मा
९ गते, मंगलबार, बिरगंज । लिटल बडी प्रि-स्कुलले आफ्ना सम्पूर्ण विद्यार्थीहरूको सुरक्षा तथा कल्याणलाई ध्यानमा राख्दै नेको इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरी २४ सै घण्टा लागु हुने दुर्घटना बीमा गराएको छ ।

बीमा योजना अन्तर्गत विद्यार्थीहरूले रु. १ लाख सम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् । उक्त बीमा सुविधा विद्यालयमा अध्ययनरत समयमा मात्र नभई घर वा अन्य कुनै स्थानमा रहेका बेला समेत २४ सै घण्टा लागु हुने जनाइएको छ । बीमा दाबी तथा सुविधा सम्बन्धित कम्पनीका नियम तथा सर्तअनुसार हुने बताईएको छ ।

बीमा योजना सम्बन्धी पोलिसी २४ अगस्ट २०२६ मा लिटल बडी प्रि-स्कुलका निर्देशक एवं प्रधानाध्यापक श्री विजय कुमार बल र नेको इन्स्योरेन्स लिमिटेडका जुनियर असिस्टेन्ट श्री नितेश श्रेष्ठ बीच औपचारिक रूपमा पोलिसी आदान–प्रदान गरिएको हो ।

विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उनीहरूको सुरक्षा, संरक्षण र समग्र कल्याणलाई प्राथमिकता दिँदै आएको जनाएको छ । विद्यार्थीहरूको आकस्मिक जोखिमका समयमा अभिभावकलाई आर्थिक तथा मानसिक रूपमा केही राहत पुगोस् भन्ने उद्देश्यले दुर्घटना बीमाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार बालबालिकाको सुरक्षित वातावरणमा सिकाइ तथा विकास सुनिश्चित गर्नु विद्यालयको प्रमुख जिम्मेवारी भएकाले यस्ता सुरक्षामूलक पहललाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ ।

लिटल बडी प्रि-स्कुलको यो पहलले विद्यार्थीको सुरक्षा र अभिभावकको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button